होस हराएको बेला कविता I Hos Harayeko Bela Poem



लेखन समय: दिउसो २.३०, ५ साउन २०७१, जेभियर इन्टरनेसनल कलेज, कालोपुल
उसका लक्ष्यहरू घृणाको भावले
सामुन्द्रिक आधिबाट प्रताडित टापुको झैँ छन्
उसका सपनाहरू व्यर्थ कुरामा परिवर्तित हुन्छन्
आतिन्छ
होस हराउँछ
पिउँछ
मातिन्छ
कहालिएर पिडा र व्यथा सम्झन थाल्छ
असफलताको थुप्रो कोट्याउन थाल्छ
सम्झन र रुन थाल्छ
त्यही मातृत्वको यादमा र वात्सल्यको यादमा
मातृभूमी  र साथित्व को यादमा
होस हराएको बेला
मुटुमा रोपिएको काँडा उखेल्न खोज्दै छ
रक्सीको मातमा
औँसी र जुनेली रातमा
धुवा धुवा भाको छ जीवन
घृणा र तिरस्कारका विरुद्ध
समाजको आक्षेपका विरुद्ध
बन्दुकको गोलि झैँ उसका आवाजहरू निस्की रहेका छन्
ग्रामीण धूलो र माटो सम्झिदैं
मेला पात र परिवेश सम्झिदैं
आशु तपतप चुहिन्छ
होस हराएको बेला
कलम समात्ने हातहरू
देश बनाउने हातहरू
देश बदल्ने आवाजहरू
आज मातृभूमी छोड्न बाध्य छन्
घृणा र तिरस्कार खेप्न बाध्य छन्
कराएर मातिन्छ
ऊ सम्झदा पागल बन्छ
बिर्सिन्छ यस्ता कैयौँ कुरा
सहारा लिई धुवा र बोतलको
होस हराएको बेला

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments